ट्रयाक्टरमा सुरक्षाकर्मीसहित मुख्यमन्त्री उभिएको फोटो भाइरल, गुरूङ भन्छन्-के नौलो कुरो भयो र!

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको एउटा तस्वीर सोमबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। तस्वीरमा मुख्यमन्त्री गुरूङ हिलाम्ये ट्रयाकटरमा ड्राइभरसँगै उभिएका छन्। उनका छेउमै १ जना नेपाली सेना र १ जना नेपाल प्रहरीका गरी दुई जना सुरक्षाकर्मी पनि उभिएका छन्। उनीहरू दुबै जना मुख्यमन्त्री गुरूङका अंगरक्षक हुन्।

‘खेत रोप्नका लागि सम्याइरहेको ट्रयाक्टरमा चढ्दा पनि सुरक्षाकर्मी बोक्नुपर्ने?’ सामाजिक सञ्जालमा मुख्यमन्त्रीको आलोचना भएको मुख्य प्रश्न यही हो। सोमबार स्याङ्जाको पुतलीबजार नगरपालिका ४ गोठेफाँटमा जग्गा चक्लाबन्दी गरी रोपाइँ कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा मुख्यमन्त्री गुरूङ प्रमुख अतिथि थिए।

उक्त स्थानमा १ सय २० जना किसानका ३ सय १० रोपनी जग्गा चक्लाबन्दी गरेका थिए। कार्यक्रमको उद्घाटन मुख्यमन्त्री गुरूङले रिबन काटेर गरेका थिए। त्यसपछि उनी गुरूङलाई चक्लाबन्दी गरेको खेतमा जोत्न राखेको ट्रयाक्टरमा स्थानीयले चढाएको कार्यक्रमका सहभागी फोटो पत्रकार युनिश गुरूङले बताए।

सामाजिक संजालमा अहिले भाइरल भइरहेको तस्वीर गुरूङले नै खिचेका हुन्। ‘स्थानीय किसानले नै मुख्यमन्त्रीलाई ट्रयाक्टरमा चढाइदिएका हुन्,’ फोटो पत्रकार गुरूङले सेतोपाटीलार्य भने, ‘त्यसपछि उहाँको सेक्युरिटी पनि चढे, मैले फोटो खिचें।’

स्याङ्जामो यो कार्यक्रममा सहभागी भएर फर्किएपछि सोमबार नै मुख्यमन्त्री गुरूङ काठमाडौं गएका छन्। नेकपा स्थायी कमिटी बैठकमा सहभागी हुन काठमाडौं गएको उनले बताए। फोटोबारे जिज्ञासा राख्दा मुख्यमन्त्री गुरूङले भने, ‘मेरो पिएसओ म चढेको ट्रयाक्टरमा चढ्नु के नौलो भयो र!’