जुन ठाउँमा फोटो खिच्दा सुरक्षागार्डले हप्काएका थिए, अहिले त्यहीँ किनेका छन् अक्षयले घर

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमारले हालै सामाजिक सञ्जालमा एउटा भिडिओ पोस्ट गरेका छन्। यो भिडिओ उनको जुहु बिचस्थित घरका बारेमा छ। यसको खास विशेषता के भने आज उनी बसिरहेको यो घर जहाँ छ, त्यही ठाउँमा ३२ वर्ष अगाडि उनले फोटो खिच्दा त्यहाँको एउटा ठूलो घरका सुरक्षा गार्डले हप्काएर निकालेका थिए।

भिडिओमा अक्षय कुमारले ती पुराना दिन सम्झिएका छन्। उनका अनुसार उनी त्यो बेला बलिउडमा आइसकेकै थिएनन्। उनी त्यो बेला एक चिरपरिचित फोटोग्राफरका ‘असिस्टेन्ट’ थिए। उनी ती फोटोग्राफरसँग उनको हाल घर भएको ठाउँ (जुहु बिच) मा फोटा खिच्ने काममा सघाइरहेका थिए। अक्षयलाई यो कामका लागि पैसाको साटो यहीँ फोटो सुट गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो।

‘काम थालेको चार-पाँच महिनापछि मैले फोटोग्राफरलाई तिमी अन्यथा सोच्दैनौं भने मलाई कामको पैसा नदेऊ, बरू यहाँ मेरो फोटो सुट गरिदेऊ भनेँ,’ अक्षयका भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ। अक्षयका अनुसार उनीहरू दुई जना जुहु बिच गए र त्यहाँ एउटा पुरानो ठूलो घर देखे। ‘म तुरून्तै त्यो घरको बरन्डाजस्तो भागमा बसेँ र उनले मेरा फोटा खिच्न थाले,’ अक्षयले भनेका छन्, ‘तर त्यो घरका सुरक्षा गार्डले हामीलाई देखे र हामीतिर आए। उनले हामीलाई हप्काउँदै बाहिर निकाले।’

उनका अनुसार त्यति बेलासम्म उनीहरूले तीन-चार वटा फोटा खिचिसकेका थिए। यो घटनापछि मेरो कुनै योजना त थिएन। तर आज म जुन घरमा बसिरहेको, जहाँ बसेर यो भिडिओ बनाइरहेको छु, म त्यसरी निकालिएको घर यहीँ ठाउँमा थियो,’ उनले भिडिओमा पहिले त्यहीँ खिचेको फोटो देखाउँदै भनेका छन्। अक्षयका अनुसार पछि त्यो पुरानो भवन भएको ठाउँमा नयाँ घर बन्यो र अक्षयले त्यो नयाँ घर किने। उनले पुरानो र नयाँ फोटो देखाउँदै भनेका छन्, ‘यो एकै ठाउँमा खिचिएको फोटो हो। एउटा ३२ वर्षअगाडि। एउटा तीन-चार वर्ष अगाडि।’

भिडिओमा पुरानो र नयाँ फोटो देखाउँदै अक्षय कुमार। तस्बिर स्रोतः लोधा