नेपालकी पहिलो महिला क्याम्पस प्रमुख जोशीको निधन

काठमाडौं। शिक्षाविद् एवम् समाजसेवी अंगुरबाबा जोशीको निधन भएको छ। ८९ वर्षको उमेरमा जोशीको काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा शनिबार दिउँसो पौने ३ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

तीन सातादेखि न्युरो अस्पतालमा उपचारत जोशीको ब्रेन ह्यामरेजका कारण उपचारकै क्रममा शनिबार निधन भएको हो। करिब दुई दशकअघि घाँटीमा क्या’न्सर देखिएपछि गरिएको शल्यक्रियाको क्रममा उनको अनुहार बांगिएको थियो । त्यसपछि उनलाई स्तन क्या’न्सरसमेत भएको थियो।

जोशी पद्माकन्या क्याम्पसको संस्थापक हुन्। उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुखसमेत हुन्। जोशीले १८ वर्ष पद्मकन्या क्याम्पसको प्रमुख भएर काम गरेकी थिइन् । जोशीको केही बेरमा पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार हुने पारिवारिक स्रोतले जानकारी दिएको छ।