चार घण्टा चार्ज गरेपछि १२० किलोमिटर चल्ने कार बनाउँदै सरोज चेपाङ

चितवन । एक सिटको प्यारामोटर निर्माण गरी सफल परीक्षण समेत गरेका चितवन गड्यौलीका सरोज चेपाङ अहिले विद्युतीय कार र प्यारामोटर बनाउन व्यस्त छन् ।राप्ती नगरपालिका–२ गड्यौली मिलन टोल बस्ने युवा वैज्ञानिक सरोजले पेट्रोलबाट चल्ने कारलाई परिवर्तन गरी चार्ज गरेर चलाउन मिल्ने कार बनाइरहेका छन्।

दुई वर्षअघि राप्ती नदी किनारमा प्यारामोटरको सफल परीक्षण गरेका चितवनका सरोज चेपाङले अहिले विद्युतीय कार निर्माण गरेका हुन् । चालकसहित पाँच जनाको क्षमता भएको पेट्रोलबाट चल्ने कारलाई परिवर्तन गरी चार्जबाट चल्ने बनाएका हुन्।

उनले सो गाडी परीक्षण पनि गरिसकेका छन् । ४ घण्टा चार्ज गरेपछि १ सय २० किलोमिटर चल्ने उनको दाबी छ । उनले नयाँ कार बनाउँदा १० लाखदेखि १२ लाखसम्म खर्च हुने बताए ।पाँच जना क्षमताको कारसँगै उनले तीन पांग्रे कार पनि बनाइरहेका छन्, जसमा दुई जना मात्र चढ्न मिल्छ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रामेश्वर अधिकारीले अर्डर गरेकाले तीन पांग्रे कार बनाएको सरोजको भनाइ छ ।एउटा एयर बोट बनाएर पोखरीमा परीक्षण गरेपनि त्यसले त्यति चर्चा पाएन तर, अहिले पाँच वटा एयरबोट अर्डर आएको उनले बताए।

उनीसहित डा. रामेश्वर अधिकारी, चिरञ्जिवी ओली, रोमान्च डल्लाकोटी र सन्तबहादुर चेपाङ मिलेर ‘सरोज चेपाङ परीक्षण तथा प्रशिक्षण केन्द्र’ दर्ता गराएका छन् ।उक्त केन्द्रले एयर एम्बुलेन्स र ३२ सिटे बस निर्माण गर्ने योजना बनाएको छ ।

सीमान्तकृत समुदायको रुपमा चेपाङ समुदायलाई लिइन्छ । प्यारामोटर बनाएर सफल परीक्षण गरेपछि संघीय सरकार र बागमति सरकारले समेत युवा वैज्ञानिकका रुपमा सम्मान गरिसकेको छ ।।