भारत छिर्न लाग्दा सरिता गिरीलाई नाकाबाट फर्काइयो

सिराहा। भारत प्रवेश गर्न लाग्दा राष्ट्रिय जनता पार्टीकी सांसद सरिता गिरी नाका नजिकै रोकिएकी छिन् । उनलाई नेपाली सुरक्षाकर्मीले रोकेर फर्काइदिएका हुन् । सुरक्षा स्रोतका अनुसार भारत प्रवेश गर्न उनले निकै प्रयास गरेपनि सफल नभएपछि लाहानतर्फ फर्किएकी थिइन् । चालक र गाडीसहित गिरी आज दिउँसो तीन बजे सिराहाको ठाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । तर, लकडाउनको समयमा नाकाबाट जाने अनुमति नदिइएको भन्दै सुरक्षाकर्मीले फर्काएको बुझिएको छ।

सुरक्षागार्डलाई समेत छाडेर चालकलाई लिएर गिरी भारत प्रस्थान गर्दै थिइन् । उनको माइती भारततर्फ पर्छ । घर सिराहामा छ । गिरी नाकामा रोकिएपछि लाहान फर्किएकी थिइन् । त्यसपछि उनी धनुषातर्फ गएको बुझिएको छ । नेपालको नयाँ नक्शासहितको निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएर गिरी विवादमा आएकी थिइन् । उनले प्रस्तावबारे मतदान पनि गरिनन् । गिरीले लिपुलेक नेपालको होइन भनी सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी थिइन्।

सांसद सरिता गिरीले भर्खरै भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै उनले चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको विवादास्पद अभिव्यक्ति दिएकी छिन् । टिभीनाइन भारतवर्षलाई अन्तवार्ता दिँदै सांसद गिरीले चीनको कुनै न कुनै समूहबाट नेपाल उक्साहट भएर नयाँ नक्सा जारी गरेको बताएकी छिन्।

नयाँ नक्सा जारी गर्दा नेपाल सरकारले स्रोत र आधारबारे केही उल्लेख नगरेकाले आफूले आपत्ति जनाएको बताएकी उनले भारतसँगै चीनको सीमा समस्या समाधान गर्ने गरी नक्सा ल्याउनु पर्ने बताउँदा आफूलाई राष्ट्रविरोधीको रुपमा चित्रण गरिएको गुनासो गरेकी छिन् । तराई मधेशका जनताले पहिचानका लागि १२ वर्षदेखि संघर्ष गर्दा पनि बेवास्ता गरेको भन्दै सांसद गिरीले मधेशी जनतालाई भारतीय एजेन्ट र जासूसको रुपमा सरकारले हेर्ने गरेको विवादास्पद भनाइ राखेकी छिन्।

आफूले सरकारी विधेयकमाथि संशोधन प्रस्ताव हाल्दा आफ्नो घरमा आक्रमणभएको भन्दै उनले वार्ताबाट भागिरहेको भारतबाट नेपालको भूमि मिचिएकोबारेमा भने केही बताइनन् । बरु उनले नेपालको लोकतन्त्र र अर्थतन्त्र भारतले बचाउने भन्दै भारतकै प्रशंसा गरिन्।

रिपोर्टस नेपालबाट