असार १७ देखि आन्तरिक, साउन देखि अन्तरास्ट्रिय उडान सुरु हुने

काठमाडौँ। लकडाउनको एक सय दिनपछि असार १७ गतेदेखि सरकारले आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका सीइओ उमेश राईबीच आइतबार प्राधिकरणमा भएको बैठकमा असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने सहमति भएको हो।

‘पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको छ,’ बैठकमा सहभागी स्रोतले भन्यो, ‘पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने छ।’

साउनमै तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान सुचारु गरिने स्रोतले बताएको छ । ‘पहिले सातवटा मुलुकबाट अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने कुरा भएको छ,’ स्रोतले भन्यो, ‘आन्तरिक उडानमा कोरोना महामारी फैलिएका हटस्पटमा भने उडान हुने छैन।’

सरकारले चैत ९ गतेदेखि व्यवासायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ भने चैत ११ देखि आन्तरिक उडान पनि रोकिएका छन्। सरकारले ६ पटक निर्णय गर्दै उडानलाई जेठ ३२ सम्म रोक लगाएको छ।