प्रशंसनीय कार्य गरेको भन्दै प्रहरी निरीक्षक अनु लामा पुरस्कृत

ईलाका प्रहरी कार्यालय, फर्पिङकी प्रहरी निरीक्षक अनु लामा नगद पुरस्कारद्वारा पुरस्कृत हुनुभएको छ।

उत्कृष्ट प्रहरी मेस निर्माण सुधार तथा साधन श्रोतको व्यवस्थापन गरी प्रशंसनीय कार्य गरेको भन्दै महानगरीय प्रहरी कार्यालयद्वारा प्रहरी निरीक्षक लामा सहित विभिन्न प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको हो।

“कार्यालय प्रमुखले अधिकृत जवान सामुहिक मेस निर्माण तथा सुधारको लागि चालेको अभियानमा भएको निर्देशन बमोजिम उत्कृष्ट स्तरको प्रहरी मेस निर्माण सुधार तथा साधन श्रोतको व्यवस्थापन गरी प्रशंसनीय एवं नमूना योग्य कार्य गरेकोले त्यस्ता प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको हो”, महानगरीय प्रहरी कार्यालयद्वारा जारी पत्रमा भनिएको छ, “अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गई कुशल कार्य सम्पादन गर्नेतर्फ उत्प्रेरित हुने कुरालाई दृष्टिगत गरी प्रहरी कर्मचारीहरुलाई निजहरुले गरेको कार्य सम्पादनको कदर स्वरुप पुरस्कृत गरिएको छ।”

प्रहरी निरीक्षक लामा सहित महानगरीय प्रहरी वृत्त, बालाजुका प्रमुख रंजित सिंह राठौर र महानगरीय प्रहरी वृत्त, जनसेवा काठमाडौंका सुनिल जंग शाह पुरस्कृत भएका हुन्।

उनीहरु क्रमशः रु. १४००, १४०० र १२०० नगदबाट पुरस्कृत भएका हुन् । प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावली २०७१(संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को (ख) बमोजिम पुरस्कृत गरिएको महानगरीय प्रहरी कार्यालय, काठमाडौंले जनाएको छ।