विदेशमा दुःख पाएका नेपालीको भोलिदेखि उद्धार, शुक्रबार युएईबाट १७० ल्याइने

काठमाडौं। शुक्रबारदेखि विदेशमा दुःख पाएका नेपालीको उद्धार सुरु हुने भएको छ । शुक्रबार बर्मामा रहेका २६ जना नेपालीलाई स्वदेश फर्काउने तयारी भएको हो । काम नभएर त्यहाँ अलपत्र अवस्थामा रहेका नेपाली श्रमिकलाई नेपाली दूतावासको पहल र बर्माको सरकारको सहयोगमा नेपाल फर्काउन लागिएको हो । यस्तै, यूएईबाट पनि शुक्रबार नै प्राथमिकताको आधारमा केही नेपालीलाई स्वदेश ल्याइने सम्भावना रहेको छ।

अहिले त्यस विषयमा छलफल भइरहेको र साँझसम्ममा यसबारे टुङ्गो लाग्ने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए। नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा तयार गरिएको लिस्टको आधारमा उडान भएमा झण्डै १ सय ७० जना यहाँबाट फर्कने छन। यूएईमा २१ हजार नेपालीले दूतावासमा आफ्नो विवरण टिपाएका छन् । जसमध्ये १८ हजार ७ सय ७२ जनाले स्वदेश फर्कन इच्छा राखेका छन्।

सरकारले यसअघि नै विदेशमा अति नै समस्यामा परेका नेपालीलाई पहिलो चरणमा उद्धार गर्ने निर्णय गरिसकेको छ । खाडी, मलेसिया र अरु देशमा रहेका नेपाली दूतावासले फर्कने नेपालीको विवरण संकलन र समन्वयको काम गरिरहेका छन् । केही दिन अघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका सबै नेपाली नागरिकलाई तत्काल स्वदेश ल्याउन सक्ने अवस्था नरहेको बताएका थिए । जेठ ६ गते मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन्।

प्रतिपक्षी दलका सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भनेका थिए– ‘भावनामा ह्वारह्वारी मान्छे ल्याएर क्वारेन्टाइनमा पनि राख्न नसक्ने अवस्था आउन सक्छ । केही पनि गर्न नसक्ने र कोरोना मात्रै फैलाउने अनि देशै सोत्तर बनाउने ? त्यस प्रकारको भद्रगोल सिर्जना गर्ने मनस्थितिमा सरकार छैन।’