भारतमा शक्तिशाली चक्रवात ‘निसर्ग’ आउँदै, नेपालमा पनि प्रभाव

काठमाडौं। भारतमा ‘अंपुन’ चक्रावत आएको २ साता नवित्दै अर्को शक्तिशाली चक्रवात ‘निसर्ग’ को खतरा उच्च भएको छ । भारतको पश्चिम तटीय क्षेत्रमा आउन लागेको ‘निसर्ग’ चक्रवात ‘अंपुन’ चक्रावतको तुलनामा केही कमजोर भए पनि तीब्र गतिको हावाहुरीसहित वर्षा हुने र केही स्थानमा भूस्खलन समेत हुने भारतीय मौसम विज्ञान विभागले चतावनी दिएको छ।

अरब सागरमा तिब्र गतिमा चलिरहेको हावा चार किलोमिटर प्रति घण्टाका दरले उत्तरतर्फ अघि बढिरहेको र निसर्ग चक्रवातले उत्पन्न हावाहुरी मुंबइको तटीय र गुजरात सुरतको दक्षिण पश्चिमी क्षेत्रको नजिक आइपुगेको छ । उक्त चक्रवातको प्रभाव महाराष्ट्रको उत्तरी क्षेत्र र गुजरातको दक्षिणी क्षेत्रमा बुधबार देखिने भएकाले सतर्क रहन भारतीय मौसम विभागले चेतावनी दिएको छ।

चक्रवात निगर्सले उग्र रुप लिंदा हावाको गति १०५ देखि ११५ किलोमिटर प्रति घण्टाको गतिमा रहनेछ भने बुधबार बढेर १२५ किलोमिटर प्रति घण्टा पुग्नेछ । भारतीय मौसम विभागका अनुसार जुन ४ मा चक्रवात निसर्गको गति घटेर ६० देखि ७० किलोमिटर प्रति घण्टा हुने छ । महाराष्ट्र सरकारले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै मुंबई र आसपासका क्षेत्रमा रेड अलर्ट जारी गरेको छ।

नेपालमा पनि प्रभाव देखिने

चक्रवात ‘निसर्ग’ को प्रभाव नेपालमा पनि देखिने भएको छ । नेपालको मौसम पूर्वानुमान महाशाखाले चक्रवातको नाम उल्लेख नगरी जारी गरेको सूचनामा दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको उल्लेख छ।

आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवात हुने सम्भावना रहेको र त्यसको प्रभावले नेपालका केही स्थानमा जुन ४, ५ र ६ अर्थात जेठ २२ देखि २४ मा वर्षाका साथै पश्चिमी उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनअघि बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावले नेपालका पूर्वी र मध्य भूभागमा हावाहुरीसहित वर्षा भएको थियो।

मौसमविद् विभूति पोखरेलका अनुसार नेपालमा चक्रवातको प्रत्यक्ष असर गर्दैन । नेपालसम्म आइपुग्दा सो प्रणाली कमजोर भइसकेको हुन्छ । नेपालमा चक्रवातको आंशिक प्रभाव मात्र पर्ने बताइएको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा उक्त चक्रवातको प्रभावले सुदूरपश्चिमी भूभागका केही स्थानमा वर्षा र पश्चिमी उच्च हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको मौसमविद् पोखरेलले बताइन्।