लकडाउनको अवधिमै चेकजाँच बिना गुड्न थाले सवारी

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न सडकमा लकडाउनको ७१ दिनपछि मंगलबार निजी सवारी साधन सुरक्षाकर्मीको चेकजाँच बिना गुड्न थालेका छन् । मुलुकमा पछिल्लो समय कोरोना संक्रमित झन् बढ्दै गए पनि प्रशासनले उपत्यकाभित्र विभिन्न कार्यको लागि निजी सवारीलाई रोकतोक बिना आउजाउ गर्न दिएको हो ।सडकमा चेकजाँच बिना सवारी गुड्न पाएपछि उपत्यकावासीले लकडाउन खुकलो भएको महशुस गरेका छन् । सडकका तैनाथ सुरक्षाकर्मिले यसअघि सवारी चेकजाँच गर्दै आएका थिए।

तर मंगलबारदेखि भने सडकमा निर्वाध रुपमा गुडेका कार र मोटरसाइकल लगायतका निजी सवारी साधनलाई सुरक्षाकर्मीले चेकजाँच गर्न छोडेका छन् ।सवारी साधान चेकजााच नगरे पनि यद्यपि सुरक्षाकर्मीले निगरानी भने गरिरहेका छन् । शहरका मुख्य सडकमा मंगलबार बिहानै देखि सवारी साधनको चाप बढ्दै गएको छ । जडिबुटी, कोटेश्वर नयाँ बानेश्वर र माइतीघर लगायतका स्थानको सडकमा सवारी ट्राफिक जाम नै लाग्न थालिसकेको छ । लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको र मानिसहरु काममा निस्किन थालेपछि उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढेको हो।

आज लकडाउनको ७१ दिन पुगेको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ । जेठ २० गते (आज) सम्मका लागि तोकिएको लकडाउन शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लम्ब्याउने निर्णय गरेको थियो । तर यस बिचमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल भइरहेकाे छ ।मन्त्रिपरिषद्को शनिबारको बैठकले लकडाउनको नयाँ ढाँचा तयार गर्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन समेत दिएको थियो।

त्यही निर्देशन अनुसार समितिले मंगलबार लकडाउनको मोडालिटीमा छलफल गर्न बैठक आह्वान गरेको छ । लकडाउन जारी हुँदा चैत ११ गते दुई जना मात्रै संक्रमित रहेकोमा अहिले लकडाउनको ७१ दिन पुग्दा १ हजार ८ सय ११ पुगेको छ । यसबीचमा ८ जनाको मृत्यु पनि भइसकेको छ । लकडाउन भएपनि संक्रमितको संख्याको वृद्धिदर बढ्दै जाने र अर्थतन्त्रमा पनि गम्भीर असर पर्दै जाने भएकाले लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकारलाई दवाब पर्दै गएको छ।

तस्बिर : फाइल