अमेरिकी नागरिकता लत्याएका शेर्पा भन्छन्– “अर्काकी आमाको काख रोज्न सकिनँ”

काठमाडौं। सोलुखुम्बुका छेवाङ शेर्पा सन् १९७८ मा पढ्नका लागि बेलायत पुगेका थिए । त्यसै बेला नेपाल प्रहरीमा उनका साथीको मामा रहेका तत्कालिन प्रहरी महानिरिक्षकले प्रहरी निरिक्षकमा जागिर समेत दिए । तर, उनले त्यसलाई स्वीकार गर्ने परिस्थिति बनेन । किनभने, उनी अमेरिका हानिएका थिए।

सन् १९८२ मा अमेरिका छिरेका शेर्पाका लागि त्यसअघि प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र इडमन हिलारीका अफिसीयल फोटोग्राफर सर आफ्री रेगरीले यहि मौकामा अमेरिका घुमेर आउन सुझाव दिए । त्यसमा उनलाई सहज बनाउने भिसा र प्लेनको खर्च पनि उनैले दिएका कारण अमेरिकातिर हानिए, शेर्पा ।

उनले अमेरिकी प्रजातन्त्र हेरेर फर्किन आग्रह गरेका थिए । त्यहाँ प्रजातन्त्र कस्तो हुँदो रहेछ भन्ने कौतुहलता पनि थियो सायद, त्यसैले एक साताका लागि भनेर अमेरिका पुगे ।

अमेरिका बसाई उनको नीजि चाहनामात्र बनेन, दुईवटी बहिनीको अध्ययनको कारण र परिवारलाई राम्रो शिक्षादिक्षाको अवसर पनि बन्यो । तर, उनले मुलुकप्रतिको प्रेमको प्रतीकलाई कायम राखे, अमेरिकी नागरिकता ग्रहण नगरी । ‘मैले चाहेको भए त १९८३ मा नै पाउन सक्थें तर लिइन ।’

झन्डै चार दशक अमेरिकामा बसे पनि उनले नेपाली राहदानीकै प्रयोग गरिरहेका छन् । यसमा उनी माटोको माया देख्छन्, आमाको काख पाउँछन् । समयले विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका पुर्याए पनि जन्मिएको धर्तीको सुगन्ध जत्तिको प्यारो केही लाग्दैन उनलाई । भन्छन्,‘हामी कहिल्यै पनि आप्रवासन भएनौं, उपनिवेश भएनौं । हाम्रो इतिहास विश्वमै अलग छ जुन अमेरिकाको पनि छैन, भारतको पनि छैन ।’

उनले अमेरिकन पासपोर्ट प्रयोग गर्न इच्छा नहुनुको गुह्य कारण पनि खोले । ‘ग्रिनकार्ड होल्डरले अमेरिकाका लागि ज्यान दिन्छु अथवा भोली नेपालीलाई गोली ठोक्छु भन्नुपर्ने बाध्यता छैन तर त्यहाँको पासपोर्ट लिएपछि जे पनि गर्न तयार हुनुपर्छ’, उनी भन्छन्,‘म नेपालको अस्तित्व र मातृभुमीविरुद्ध व्यक्तिगत स्वार्थमा अलमलिने मान्छे होइन ।’

म सरकारको कानून मान्छु तर सरकारले सबैकुरा गरिदिनुपर्छ भन्ने निर्भरतामा रहन्न । आत्मनिर्भर भएर सहकारी खोल्छु त्यसमार्फत आत्मनिर्भर हुनुपर्छ भन्ने शिक्षालाई व्यवाहारिक हिसाबमा प्रयोग गर्नेछु

मुलुकप्रतिको वास्तविक प्रेम उनका अनेक तर्कबाट मापन गर्न सकिन्छ । उनी भन्छन्,‘विल गेट्स जतिसुकै धनी होस्, दलाई लामा जति सुकै चर्चित हुन् अथवा डोनल्ड ट्रम्प जति सुकै शक्तिशाली हुन् । यो स्वतन्त्र र स्वर्ग जस्तो मुलुकमा जन्मिने अवसर पाएनन् । म जति सुकै गरिब हौं तर म स्वर्गको टुक्रामा जन्मिने सौभाग्य पाएँ, यो सौभाग्यलाई मैले कसरी लिलाम गर्न सक्छु र !’

यसलाई अझ प्रष्ट पार्दै उनी खुल्छन्,‘विदेशी पासपोर्ट लिनु भनेको आफ्नी आमाको कोख त्यागेर अर्काकी आमाको काखमा बस्न जानु हो, त्यो मबाट सम्भव छैन ।’ त्यसैले पनि उनलाई अमेरिकाले देश निकाला गरे पनि कुनै त्रास छैन ।

उनले जीवनमा उत्तरार्ध पनि उर्जाशील र प्रयोगसिद्ध बनाउने चाहना राखेका छन् । अमेरिका सरकारको सांस्कृतिक विभागमा कार्यरत उनी कृषि विभागलाई हेर्छन् । त्यहाँबाट सेवा निवृत्त भएपछि त्यो सीप नेपालको सोलुखुम्बु जिल्लामा रहेर कृषक, युवा र विद्यार्थीका लागि लगानी गर्ने सोच छ, सहकारीमार्फत । यस्तो सहकारी जसले कृषकका लागि उत्पादन, युवाका लागि स्वरोजगारमा सहयोग र विद्यार्थीका लागि अध्ययनको शुल्क लगानी गरिदिने हुनेछ, नाफारहित ।

उनी आफूलाई अलिकति अराजकतावादी भन्न रूचाउँछन् । यसलाई अथ्र्याउँदै भन्छन्,‘म सरकारको कानून मान्छु तर सरकारले सबैकुरा गरिदिनुपर्छ भन्ने निर्भरतामा रहन्न । आत्मनिर्भर भएर सहकारी खोल्छु त्यसमार्फत आत्मनिर्भर हुनुपर्छ भन्ने शिक्षालाई व्यवाहारिक हिसाबमा प्रयोग गर्नेछु ।’

जुल्फी ढल्काउने, केटी फकाउने रहर !

केटौले रहर, उनमा पनि थियो । युवती आकर्षित हुने जागिरको पनि रहर थियो । र, त्यसबेला पाइलट बन्नु एउटा ठूलो उपलव्धी हुन्थ्यो ।

‘आरएनएसीको पाइलट बनेर हिरो हुने रहर थियो’, उनी सम्झन्छन्,‘एक जना मेजर जनरल पर्ने मेरा मामा अमेरिकामा हुनुहुन्थ्यो त्यो मौकामा रहरको काम प्लेन उडाउने मौका पाएँ । सिक्न थालें ।’

उनको अमेरिका बसाई निरन्तरताको कारण थियो, बहिनीलाई दिएको बचन । एसएलसीमा प्रथम श्रेणीमा उत्तिर्ण भए संसारको राम्रो कलेज पढाउने बचन दिएका थिए ।

‘नभन्दै बहिनीले प्रथम श्रेणीमा उत्तिर्ण गरिन्, फिलिपिन्समा डक्टर पढाउनु पर्यो । जसको महिनाको फि नै ५ सय डलर थियो । जुन, नेपालको कमाइले नपुग्ने थियो’, उनी भन्छन्,‘अर्की बहिनीलाई पनि त्यसरी नै विदेशमा पढाउन पर्यो ।’

यस्तै साना साना शिलशीलाले उनलाई अमेरिकामा बाँध्यो तर उनको मनभित्रको देशप्रेमचाहिँ बन्धनमा बहिल्यै बसेन ।

गैरआवासीय नेतालाई प्रश्न

लामो समय अमेरिका बसेका उनले गैर आवासीय नेपाली संघको परिकल्पना पनि गरेका हुन् । तर, आफैंबाट लगानी हुनुपर्छ, सेवामूलक काममा अग्रसर हुनुपर्छ भन्ने मानक शेर्पा जोड्छन्,‘आफूबाट लगानी गर्न नसक्ने तर आफ्ना लागि मात्र लगानी खोज्ने कसरी देशको भलो चिताउने हुनसक्ला ? त्यसैले म कुनै कार्यकारी पदका लागि मरिहत्ते गर्न चहान्न ।’

समाज सेवामा तपाईभन्दा अगाडि म छु । के आधारमा तपाईले आफूलाई अध्यक्ष र मलाई उपाध्यक्षको पदको योग्यता मापन गर्नु भयो ? म अध्यक्ष बस्छु तपाई उपाध्यक्ष बस्नुहोस् पनि भनें

उनले उपेन्द्र महतो एनआरएन संस्थापक अध्यक्ष हुनुभन्दा अघि नै अमेरिकामा रहेका डाक्टर श्याम कार्कीको प्रस्तावबारे पनि सुनाए । भन्छन्,‘उहाँले एनआरएन भन्ने संस्था खोलौं भन्नुभयो । मैले हुन्छ भनें । तर, खोलेर के गर्ने ? नेपालमा अनाथ आश्रमलगायतका सामाजिक काममा खर्च गर्नुपर्छ तपाई र म मिलेर ५०–५० हजार डलर जम्मा गरौं भनें ।’

गर्छु भन्ने प्रतिबद्धता भन्दा पनि गरेर गर्यौं भन्ने सन्देश दिन रुचाउने शेर्पाले कार्कीसँगको अर्को प्रसङ खुलाउँदै भने,‘उहाँले चुनावमा आफूलाई अध्यक्ष र मलाई उपाध्यक्षमा लडौं भन्नुभयो । मलाई चसक्क भयो । मैले भनिदिएँ– समाज सेवामा तपाईभन्दा अगाडि म छु । के आधारमा तपाईले आफूलाई अध्यक्ष र मलाई उपाध्यक्षको पदको योग्यता मापन गर्नु भयो ? म अध्यक्ष बस्छु तपाई उपाध्यक्ष बस्नुहोस् पनि भनें ।’

यसो भन्नुको आत्मबलको पछाडी उनीसँग थियो, राम्रो शिक्षा, समाजसेवाको अनुभव अनि नेपालप्रतिको उत्तरदायित्व बोध नकी अध्यक्ष बन्ने रहर, नेता बन्ने धोको ।

यति मात्र हैन, एनआरएन अमेरिकालाई अहिले पनि आफू नियन्त्रित घेरामा राख्न सक्ने खुवी शेर्पामा छ । त्यो हैसियत राख्ने दाबी गरेका उनी एनआरएनसँगचाहिँ खुसी देखिएनन् । भन्छन्,‘दोहोरो नागरिकताको माग र एनआरएन नेताको काम गराईसँग मलाई चित्त बुझ्दैन ।’

महतो, जीवा लामिछाने, शेष घले, देवमान हिराचन, भवनभट्टलगायतसँग मत नमिल्नुको कारण पनि यहि हो । ‘म घोषणामा विश्वास गर्दिन । घोषणाले त म नेपाललाई सिंगापुर कति पटक बनाइसक्छु । पहिला गरेर देखाउनुपर्छ । उहाँहरू, मेरा मित्रहरू एनआरएनको बलमा सचिव मन्त्रीसँग परिचय बनाउने र आफ्ना व्यापारिक एजेन्डा स्थापित गर्ने हो’, उनी जोड्छन्,‘घले जीलाई लाप्राक बनाउनका लागि कुनै सहयोग चाहिन्छ ? आफैंले गर्न सक्ने आर्थिक हैसियत छैन ? यस्ता कुरा मलाई मन पर्दैन ।’

उनले एनआरएनले उठाएको दोहोरो नागरिकताबारे बिमति राख्नुको कारण खोल्दै भने,‘माटोले उहाँहरूलाई नागरिकता किन दिने ? माटोका लागि कति प्रतिशत कर तिर्नुभएको छ ? आम्दानीको ५ प्रतिशत दिए पनि यो प्रस्ताव सुन्न सकिने थियो।’

शेर्पा, आफ्ना भनाई र विचारसहितका टिप्पणीमा प्रष्ट छन् । कुनै छलछाम छैन । सिधा भन्छन्,‘यथार्थबाट भाग्न हुन्न ।’ (दैनिक नेपाल)