आफ्ना १२ जना नागरिक लैजान भुटानले विमान पठायो

काठमाडौं। भुटानले शुक्रबार नेपालबाट १२ जना नागरिक स्वदेश फर्काएको छ । १२ जना नागरिक लिन भुटान सरकारले जहाज पठाएको थियो। ड्रुक एअरलाइन्सको एटिआर जहाजमा १२ जना नागरिक भुटान गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले जनाएको छ।

यसअघि दुई जना नागरिक लिन पनि भुटानबाट जहाज आएको थियो । नेपालमा कोरोना सङ्क्रमित बढेसँगै विभिन्न देशले नागरिक उद्धार गरिरहेका छन्। लकडाउनपछि मात्रै झण्डै ५२ सय नागरिकलाई विभिन्न देशले स्वदेश फर्काएका छन्।