चीनले बढायो रक्षा बजेट, लडाइँको तयारी तीव्र पार्न सेनालाई सीको निर्देशन

एजेन्सी। चीनले रक्षा बजेटमा पोहोरभन्दा ६.६ प्रतिशतले वृद्धि गरेको छ। बेइजिङमा जारी नेशनल पिपुल्स कंग्रेसको सम्मेलनले चालु आर्थिक वर्षका लागि रक्षामा १७८ अर्ब अमेरिकी डलर बजेट छुट्याएको हो। सबैभन्दा पहिला कोरोनाभाइरसको महामारी फैलिएको चीनमा यो वर्ष आर्थिक वृद्धिको लक्ष्य तय गरिएको छैन। महामारीलाई नियन्त्रणमा लिए पनि चिनियाँ अर्थतन्त्र अहिले पनि चलायमान हुन सकेको छैन।

चीनको चार दशकदेखि निरन्तरको आर्थिक वृद्धिमा सन् २०२० को पहिलो चौमासिकमा ब्रेक लागेको छ। यो वर्षभरि चिनियाँ अर्थतन्त्र खुम्चिने अनुमान गरिएको छ। अर्थतन्त्र ओह्रालो लाग्ने आँकलनबीच रक्षा बजेट भने बढाइएको हो। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु छियानले पछिल्लो समय चीनको राष्ट्रिय सुरक्षामा विशेष गरी ताइवानबाट चुनौती बढेको भन्दै रक्षा बजेट बढाइएको बताए।

चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा ठान्छ र एकीकरण गर्ने प्रयासमा छ। तर पछिल्लो समय ताइवानमा स्वतन्त्रता पक्षपाती राष्ट्रपति साइ इङ वेन लगातार दुई पटक चुनाव जितेकी छन्। वासिङट्न र ताइपेईबीचको सम्बन्धलाई लिएर बेइजिङ क्रुद्ध छ। अमेरिकाले १९७९ मा ताइपेईलाई छोडेर बेइजिङसँग कूटनीतिक सम्बन्ध कायम गरे पनि ताइवानसँग उसको अनौपचारिक सम्बन्ध जारी छ।

यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ सेनालाई लडाइँका लागि तयारी बढाउन निर्देशन दिएका छन्। सम्मेलनको साइडलाइनमा सेनाका अधिकारीहरूसँग कुरा गर्दै राष्ट्रपति सीले कोरोना महामारी नियन्त्रणका लागि सुरक्षाकर्मीले खेलेको भूमिकाको प्रशंसा गरे। यस्तो महामारीसँग जुध्न सेनाले नयाँनयाँ तरिकाको पनि तालिम लिनु पर्ने सीको भनाइ छ।

‘अब लडाइँका लागि नयाँ तालिम र तयारी गर्नु जरूरी छ किनकी महामारी नियन्त्रणका लागि गरिएका प्रयासहरू सामान्य बनिसकेको छ,’ सीलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले लेखेको छ। कोरोनाभाइरसका बीच बेइजिङसँग ताइवान र हङकङसँग तिक्तता बढेको छ। सुपुर्दगी सन्धीको विरोधमा महिनौं आन्दोलन भएको हङकङमा अहिले फेरि राष्ट्रिय सुरक्षा कानुनको विरोधनमा प्रदर्शन भइरहेको छ।

उता, झन्डै डेढ वर्षदेखि व्यापार युद्धमा रहेका चीन-अमेरिका सम्बन्ध कोरोनाभाइरसको महामारीले झन् चिसो बनाइदिएको छ। सुरूमा कोरोनाभाइरसलाई ‘चिनियाँ भाइरस’, ‘वुहान भाइरस’ भन्ने आरोप लगाएको राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पछिल्लो समय संसारभर महामारी फैलिनुमा चीनले सुरूमा चालेका कदम कारण रहेको आरोप लगाएको छ। अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले त वुहानको प्रयोगशालाबाट भाइरस लिक भएको यथेस्ट प्रमाण भएको दाबी गरेका छन्। चीनले भने अमेरिकाका सबै आरोपलाई अस्वीकार गर्दै वस्तुगत रूपमा हुने अन्तर्राष्ट्रिय अनुसन्धानका लागि आफू तयार रहेको बताएको छ।