सुन्तलीको आक्रोश: ‘जनताको छातीमाथि डोजर चलाइएकाे छ, कालोमोसो दलेर कोर्रा हान्नुपर्छ’

काठमाडौ। बुधबार बिहान चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा केही स्थानीयले डाेजर चलाए । निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार केही स्थानीय भत्काइदिएपछि सबै आक्रोशित र दु:खी भए ।

सामाजिक सञ्जालमा पनि धेरैले आक्रोस पाेखे । धुर्मस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मसले निर्माणाधिन रंगशालमा बार भट्ट्काइनु एकदमै दु:खद् घटना भएको बताए ।

बुधबार नै फाउण्डेसनका धुर्मसले एक विज्ञाप्ति निकाल्दै तत्कालको लागि निर्माण कार्य स्थगित गरेको जानकारी गराए । कर्मचारी, कामदारको जिउ ज्यान, भौतिक सम्पतिको सुरक्षाको विषयमा खतरा र गम्भीर परिस्थितिको सिर्जना भएकाले काम स्थागीत गर्नु परेकाे जारी विज्ञाप्तिमार्फत जनाए ।

बुधबार राति क्रिकेट रंगशालाको तारबार भत्काउने कामको मुख्य नाइके ठानिएका नेकपाका स्थानीय नेता प्रकाश कँडेलसहित १७ जनालाई प्रहरीले पक्राउ गर्यो । अहिले उनीहरूवरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनले अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाएको छ । कँडेललाई नेकपा चिनवानले निलम्बन पनि गरिसकेको छ ।

क्रिकेट रंगशाला निर्माणस्थलमा भएको अराजक गतिविधिबारे छलफल गर्नकाे लागि बिहीबार भरतपुर महानगरपालिकाले बैठक बाेलायाे । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बस्याे । उक्त बैठकमा फाउण्डेसकी उपाध्याक्ष कुञ्जना घिमिरे (सुन्तली) निकै आक्रोशमा आईन । उनले रंगशालाको बार भत्काइँदा परेको चोट बैठकमा व्यक्त गरिन ।

फाउण्डेसनका उपाध्यक्ष सुन्तलीले रंगशालामा डोजर लगाइएको नभई जनताको छातीमाथि डोजर चलाइएको अनुभूति आफूलाई भएको बताईन । उनले रंगशालामा डोजर चलाएर बार भत्काउने मुख्य नाइके प्रकाश कँडेललाई कालोमोसो दलेर जुत्ताको माला लगाएर कोर्रा हान्न माग माग समेत गरिन ।