१६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं। कोरोना भाइरस नियन्त्रको लागि खटिएका प्रहरी नै कोरोना संक्रमित हुने क्रम बढेको छ । आइतबार मात्रै ४ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कलैया, बारामा कार्यरत रहेका प्रहरी नायब निरीक्षकसहित थप चार जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत चार जना प्रहरीससहित कोरोनाबाट संक्रमित भएको बताएका छन्।

यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमित भएको भेटिएपछि संक्रमित ती प्रहरी जवानको कन्ट्याक ट्रेसिङको आधारमा जेठ ३ मा ४७ जना प्रहरीहरुको परीक्षणको लागि स्वाब संकलन गरिएको थियो। यो सँगै कोरोना संक्रमित प्रहरीको संख्या ९ पुगेको छ । यसअघि बुधबार कालिमाटी प्रहरी वृत्तका २ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो ।

हालसम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरेर १६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत पाँच प्रहरीको आरडीटी ‘पोजेटिभ’ देखिएको छ। आइतबार गरिएको २५ जनाको आरडीटी परीक्षणमा पाँच प्रहरीमा ‘पोजेटिभ’ देखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। आरडीटी ‘पोजेटिभ’ आउनेमा २ हवल्दार र ३ जवान रहेको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। प्रमुख भट्टका अनुसार उनीहरुको २५ देखि ३५ बर्ष उमेर समूहका रहेका छन्।