३९० टन सामान बोकेर काठमाडौँका लागि छुट्यो चिनियाँ कार्गो रेल

बेइजिङ। चीनको कान्सु प्रान्तको सदरमुकाम लान्चौबाट मे २३ मा नेपालका लागि कार्गो रेल छुटेको छ । यससँगै लान्चौबाट दक्षिण एसिया रेल तथा अन्तर्राष्ट्रिय कार्गो रेल पुनः सुरू भएको छ।

यो ३९० टन सामान बोकेको कार्गो रेलका कन्टेनरलाई तिब्बतको शिगाचे पुगेपछि इन्टरमोडल ट्रान्सपोर्ट तरिकाबाट सडकको माध्यमबाट ढुवानी गरिनेछ । जुन दस दिनभित्र काठमाडौँ पुग्नेछ । सो कार्गो रेल १३ लाख अमेरिकी डलर मुल्य बराबरका दैनिक आवश्यकताका सामानहरू, जुत्ता, कपडा, गाडीका सरसामान तथा निर्माण सामग्रीले भरिएका छन्।

लान्चौबाट शिगाचेसम्म २,४३१ किलोमिटरको रेल यात्रापछि ५६४ किलोमिटरको सडक यातायातबाट केरूङ र त्यहाँबाट १६० किलोमिटरपछि काठमाडौँ पुग्नेछ । यो चीनको पश्चिमी क्षेत्रको विकासका लागि एउटा महत्वपूर्ण प्लेटफर्म हुनुको साथै बेल्ट एण्ड रोड र अन्तर्राष्ट्रिय व्यापारका लागि पनि एउटा महत्त्वपूर्ण हब हो । दक्षिण एसियाली बजार विस्तार गर्न आर्थिक र व्यापार सहयोग प्रवर्द्धनका लागि उत्कृष्ट विकल्प बनेको छ।

२०१६ मै ११ बाट दक्षिण एसिया रेल तथा अन्तर्राष्ट्रिय कार्गो रेलको आरम्भ भएयता रेल तथा रेलसेवा सञ्चालनको गुणस्तर निरन्तर सुध्रिँदैआएको छ । चिनियाँ सञ्चार माध्यम अनुसार, हालसम्म व्यापार मात्रा करिब ४ बिलियन युआन पुगेको छ।

कान्सुको लान्चौबाट सर्वप्रथम सन् २०१६ मैमा पहिलो पटक काठमाण्डुका लागि रेल छुटेको थियो । यहाँबाट निरन्तर रूपमा सञ्चालन भए तापनि पछि अनियमित भएको थियो । यसैगरी २०१६ डिसेम्बरबाट चार महिनासम्म कार्गो रेल सञ्चालनपछि बन्द भएको थियो।

यसबाहेक, मै २२ मा सियानबाट पनि काठमाडौँका लागि यस्तै मालवाहक रेल छुटेको छ । यहाँबाट हप्तामा एक पटक काठमाडौँका लागि कार्गो रेल पठाउने योजना बनाएको आयोजक सियान अन्तर्राष्ट्रिय लजिस्टिक सेन्टरिक पार्कले बताएको छ।