भारतीय मिडियाको उद्धण्डताविरुद्ध मन्त्री अर्यालको आह्वान, ‘सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता अक्षुण्ण राख्न सबै एक होउँ’

काठमाडौं । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता अक्षुण्ण राख्न जस्तोसुकै कठिन यात्रा गर्न पनि तयार रहेको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसवुक मार्फत एक स्टाटस लेखी यो ऐतिहासीक काममा सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद दिएकी छन् । उनले भारतले अतिक्रमण गरेका अन्य भूभाग पनि समेट्दै बाँकी अभिभारा पनि पुरा गर्ने प्रतिवद्धता जनाएकी छन् ।

भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेत समेटेर नयाँ नक्सा जारी भएपछि मन्त्री अर्यालको सामाजिक सञ्जालमा निकै प्रशंसा भएको छ । ऐतिहाँसिक कामको नेतृत्व गरेको भन्दै उनको सामाजिक सञ्जालमा प्रशंसा भएको हो । उनले आफुलाई दिइएको समर्थन र प्रशंसा प्रति धन्यवाद दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जनताले सुम्पिएको दायित्व एक एक गरेर पुरा गर्ने कर्तव्य हाम्रो हो । आफ्नो माटो प्राण भन्दा पनि प्यारो ठान्ने नेपाली जनताको नसा नसामा बगिरहेको रगतमा राष्ट्रियताको भाव उर्लिएको यो क्षणमा हामी सर्वाधिक खुशी छौं । मातृभुमि प्रति सधैं ईमान्दार रहि सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता अक्षुण्ण राख्न जस्तोसुकै कठिन यात्रा गर्न तयार छौं ।

नेपाल सरकारलाई राष्ट्रियताको पक्षमा सतिसाल जस्तै उभिन प्रेरित गर्ने सम्पुर्ण नेपाली जनतालाई हार्दिक सम्मान व्यक्त गर्दछु । नेपालको नक्सामा छुटाईएको लिम्पियाधुरा सहितको भुभागलाई समेटेर अद्यावधिक गरिएको राजनीतिक, प्रशासनिक नक्सा प्रकाशन गर्नकालागि सल्लाह सुझाव सहित साथ सहयोग दिनु हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित सबै राजनीतिक दल , शिर्ष नेतृत्व , अहोरात्र खट्नु हुने सिमा बिध , विज्ञ , नागरिक समाज , राष्ट्रसेवक कर्मचारी , सञ्चारकर्मी मित्रहरु एवं सम्पुर्ण सञ्चारमाध्यमप्रति नेपाल सरकारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु । हामी सबै नेपाली एकताताबद्ध हुन सक्यौं भने जस्तो सुकै भिमकाय चुनौतीलाई पनि सामना गर्ने गर्न सक्ने सामर्थ्य हुन्छ । सिमासँग जोडिएका बाँकी अभिभारा पुरा गर्न एकाकार भएर अगाडि बढौं ।’

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतमा त्यस्को तिव्र विरोध भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले जारी गरेको नक्सा आफुहरुलाई मान्य नभएको प्रतिकृया दिएका छन् । भारतीय मिडियामा नेपालले चीनको इशारामा कालापानी र लिपुलेकेका विषय उठाएको आरोप लगाएका छन् ।