अब म के जवाफ दिऊँ प्रधानमन्त्रीज्यू ?

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कन चाहेको विषयमा प्रधानमन्त्री ओलीले दिएको जवाफ गैरजिम्मेवार र असंवेदनशील भएको टिप्पणी गरेका छन् । मंगलबार साँझ आफ्नो फेसबुक वालमा भट्टराइले विदेशमा लाखौं नेपाली श्रमिक र आम नागरिकहरू अलपत्र परेको र कोरोनाका सबै शर्त मानेर देश फर्कन चाहेका खबर आइरहेपनि देशको तालाचाबी लिएर बस्नुभएका प्रधानमन्त्री ओलीले संसदमा शुरूमा २ घण्टा बोल्दा उनीहरूवारे एक शब्द पनि उच्चारण नगरेको भन्दै गुनासो गरेका छन् ।

त्यस्तै उनले पछि सांसदहरूले सोधेको पूरक प्रश्नको जवाफ दिंदै “४०/५० लाख मान्छे भित्र्याउन कति जहाज लाग्ला ?कति महिना लाग्ला ? कुन जनशक्तिले क्वारेन्टाइन बनाउने ? कोरोना मात्रै फैलाउने ? देशै सोत्तर पार्ने ?’ भन्ने गैरजिम्मेवार र असंवेदनशील ढंगले जवाफ दिएको बताएका छन् ।

त्यस्तै भटट्राईले बर्षेनी नौ खर्ब रूपियाँ भित्र्याएर देशको अर्थतन्त्रलाई धान्दै आएका नागरिकवारे देशको कार्यकारी प्रमुखले यस्तो ओठे जबाफ दिन मिल्छ ?जतिसुकै ठूलो समस्या आएपनि त्यसको समाधान खोज्ने प्रमुख जिम्मा प्रम र सरकारको हैन ? भनेर प्रश्न गरेका छन् ।

उनले यस्तै गम्दै संसद भवन बाहिर निस्केर मोवाइल खोल्दा यस्तो मेसेज आइराखेको रहेछ भन्दै आफुलाई आएको म्यासेज पोष्ट गरेका छन् । “नमस्ते सर म सुजन थापा, मेरो घर गोर्खा जिल्ला हर्मी मल्लटार हाल म दुबैमा छु, म भिजिट भिसामा आएको लकडाउनले गर्दा नेपाल आउन सकेको छैन, मेरो भिसा पनि सकियो, यहाँ मलाइ खान बस्नलाई सारै समस्या भयो, नेपाल आउनलाई नेपाल सरकारले के कस्तो व्यवस्था गरेको छ र कहिलेबाट आउन सकिन्छ?” म्यासेज पोष्ट गर्दै भटराईले प्रधानमन्त्रीलाई ‘अब म के जवाफ दिऊँ, प्रधानमन्त्रीज्यू ?’ भनेर प्रश्न गरेका छन् ।