भारतका विभिन्न शहरबाट फर्किएका ४५ जना क्वारेन्टाइनबाटै भागे

कपिलवस्तु। यशोधरा गाउँपालिकास्थित स्वास्थ्य निगरानीमा रहेका ४५ जना क्वारेन्टाइनबाटै भागेका छन् । यशोधरा गाउँपालिकामा रहेका दुईवटा क्वरेन्टाइनबाट उनीहरु भागेका हुन् । वडा नं. २ को खोरिया गाउँस्थित सरस्वती प्रावि क्वारेन्टाइनका २३ जना र राष्ट्रिय निमावि सिहोखोर क्वारेन्टाइनका २२ जना भागेको वडाध्यक्ष साबुद्दिन मुसलमानले बताएको खबर अन्नपूर्ण पोस्टमा छ।

भारतका विभिन्न सहरबाट आएका सबैलाई क्वारेन्टाइनमा नराखिएका कारण आफूहरु पनि क्वारेन्टाइन नबस्ने भन्दै उनीहरु भागेको गाउँका स्थानीयले बताए । क्वारेन्टाइनबाट भागेका सबै वडा नं. ८ खोरिया गाउँका हुन् ।

भागेका उनीहरुको खोजी गर्न मर्यादपुर प्रहरी चौकी र विओपी डंगरीका सुरक्षाकर्मीहरु खोरिया गाउँसम्म पुगेका छन् । यशोधरा गाउँपालिकामा हालसम्म फेला परेका संक्रमितहरु १२ जनामध्ये वडा नं. ८ का ५ जना छन् । भारतको कोरोना प्रभावित सहर मुम्बइ लगायत सहरबाट आएका युवाहरु क्वारेन्टाइनबाट भागेपछि खोरिया गाउँ र आसपासका सर्वसाधारणहरुमा कोरोना संक्रमण फैलनसक्ने त्रा स बढेको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योती प्रकाश दुवेले बताए।

यसबारे आफूहरुले गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराइसकेको स्वास्थ्य संयोजक दुवेले बताए । क्वारेन्टाइनबाट भागेकाहरुको खोजी गरी क्वारेन्टाइन फर्काउन सुरक्षाकर्मीहरुसँग समन्वय भइरहेको गाउँपालिका प्रमुख गिरिजेश पाण्डेयले बताए ।