कोरोनाको लक्षण मानिसमा देखिनुअघि नै सुँघेर थाहा पाउन कुकुरहरूलाई दिइयो तालिम

एजेन्सी। मानिसमा कोरोनाभाइरसका लक्षणहरू देखिनुअघि नै सुँघेर पत्ता लगाउनका लागि बेलायतमा कुकुरहरूलाई तालिम दिइएको छ । यसको परीक्षण शुरू गर्न लागिएको छ । सरकारले यसका लागि पाँच लाख पाउन्ड रकम छुट्ट्याइसकेको छ ।

यो परीक्षण सफल भएमा कुकुरहरूले एक घन्टामा २५० जनासम्मलाई सुँघेर पत्ता लगाउँछन् र परीक्षणमा सहायता गर्छन् । यसले भाइरस पत्ता लगाउने प्रक्रियामा क्रान्तिकारी परिवर्तन ल्याउने बताइएको छ ।

लाब्राडोर र ककर स्पानियल प्रजातिका कुकुरहरूले क्यान्सर, औलो र पार्किन्सन्स डिजीज जस्ता ज्यानमारा रोग पत्ता लगाइसकेका छन् । अब उनीहरूलाई लक्षण देखिनुअघिको कोभिड–१९ पत्ता लगाउन कठोर तालिम दिइनेछ । अनुसन्धानमा कुकुरहरूले यस रोगको गन्ध चाल पाएको देखिएको छ ।

पहिलो चरणको परीक्षण लन्डन स्कूल अफ हाइजिन यान्ड ट्रपिकल मेडिसिनका अनुसन्धाताले गर्नेछन् । उनीहरूले मेडिकल डिटेक्सन डग्स र डरहम विश्वविद्यालयसँग यसका लागि साझेदारी गरेका छन् । लन्डन स्कूलको रोग नियन्त्रण विभागका प्रमुख प्राध्यापक जेम्स लोगनले सफलतामा आशावादी रहेको बताए ।